नेपाली वाड्०मयको भण्डारमा एक कृति र कृतिकारको आगमन भएको छ त्यो हो- “समुद्र पारीको माया” र शान्तु माया अधिकारी घिमिरे ।
यस कृतिको पाण्डुलिपि र कृतिकारसँगको क्षणिक संवादवाट प्राप्त जानकारीअनुसार यस संकलनमा रहेका सिर्जना विगत एक वर्षभित्रका सिर्जना हुन् । यसलाई वर्षदिनको औडाहा, छटपटी र उहापोहको शव्दमा प्रकटीकरण भन्दा पनि हुन्छ ।
मुख्यतः नयाँ सिर्जनाकारले माया, प्रेम, विछोडका विषयमा गरिने अभिव्यक्ति स्वाभाविक रुपले यस कृतिमा विशेष रुपले आएका छन् ।
देशको माया, आफ्नो जन्मथलोको सम्झना उनका सिर्जनाको अर्को पाटो हो भने परदेश अर्को पक्ष हो ।
कृतिका अत्यधिक पृष्ठमा खर्च गरिएको विषय प्रणय नै उनको सिर्जनाको मूल स्वर भएको उनका अभिव्यक्ति यस्ता छन्ः
“नहेर तिमीले मेरा वाटाहरु
तिमीले हिंड्ने वाटाहरुमा हिंड्न सक्दिन”
-तिम्रो हुन सक्दिन म
“तिम्रो यादमा तड्पिदा तड्पिदादै फेरी
जीवनको जंघार पारी अर्को डेरा सरेको छु”
-डेराको जिन्दगी
“सुखदुखको जिन्दगी हो एक अर्कामा भन्नु
आत्मियताको पसल थाप्छु तिमी ग्राहक वन्नु”
-पसल
उनी आफ्नो जन्म थलोलाई यसरी सम्झना गर्छिन्ः
“लमजुङ जिल्ला सानो मेरो माइती गाउँ
किरिन्चे र पुरान्कोट भनेपछि चिन्छन् सवले ठाउँ
वारिपारि हरिया डाँडा काँडा वेंसीमा छ घर
वाघ र चितुवाको अति लाग्ने डर”
-मेरो सानो माइती गाउँ
“मलाई अति प्यारो लाग्छ मेरै जन्मभूमि हजूर
जहाँ पुगेपनि याद आउँछ घुमी घुमी हजूर”
-प्यारो जन्मभूमि
“समुद्र पारि” तथा “परदेशको जीवन” दुई रचना परदेशको भावनामा सम्वन्धित रचनाहरु हुन् । यि रचनामा परदेशका भावनाहरु समेट्ने उनको आकाँक्षा रहेको वुझिन्छ । यही आकाँक्षाले यी रचनाहरुको जन्म भएको छ:
“आफ्नो दु:ख पछ्याउँदै कहाँ कहाँ पुग्नु रै’छ
आफन्तको याद गर्दै परदेश देख्नु रै’छ ।“
-परदेशको जीवन
साहित्य सिर्जनातर्फ उन्मुख कोही हुन्छ भने, सिर्जनाको मार्गमा कसैले पाइला अघि वढाउन खोज्छ भने त्यो अत्यन्त स्वागत योग्य कुरा मान्दछु म । सगरमाथा आरोहणकालागि सवभन्दा पहिले आधार शिविरमा पुग्नै पर्छ, त्यसपछि मात्र उकालीको यात्रा शुरु हुन्छ । नव रचनाकार शान्तु माया अधिकारी घिमिरेलाई यो आधार शिविरमा म हार्दिक स्वागत गर्दछु र सवैवाट आत्मिय स्वागत हुने अपेक्षा राख्दछु ।
साहित्यको मार्गमा हिंड्नेहरु आफैले नयाँ वाटो वनाएर हिंड्नु पर्छ पृथक देखिनलाई, त्यो नयाँ वाटो, विषय, प्रस्तुतिकरण शैली वा यी सव हुन सक्छन् । साहित्यमा गम्भिर भएर लाग्नेको गन्तव्य यही हो, त्यसतर्फ पनि नव रचनाकारले आगामि रचनामा सोच्ने विश्वास लिंदै यस कृतिको हार्दिक सफलताको कामना गर्दछु ।
२८ नोभेम्वर २०१०
मनासस भर्जिनिया, अमेरिका
गोविन्द गिरी ‘प्रेरणा’
केन्द्रीय बरिस्ठ उपाध्यक्ष
विश्व नेपाली साहित्य महासंघ
कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)
कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire
© सर्बाधिकार: लेखिकामा
E-mail: santaghimire@gmail.com